
मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।
कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्यु समेत हुने गरेको मधेस प्रदेशको एक तथ्याङ्कले देखाएको छ ।
मधेस प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको पोषण गृहका अनुसार कुपोषणका कारण बालबालिकामा मुटुको समस्या, श्वासप्रश्वास, निमोनिया, रक्तअल्पता, क्षयरोग, मस्तिष्कघात, वृत्तिविकासमा कमी, पुड्कोपन लगायत समस्या हुने गरेको छ ।
आर्थिक वर्ष २०७९- ८० मा एक सय ८६ बालबालिका कुपोषणका कारण उपचारका लागि जनकपुर अस्पतालमा भर्ना भएका थिए भने आव २०८०- ८१ मा दुई सय १६ बालबालिका उपचारका लागि भर्ना भएको प्रतिष्ठानले जनाइएको छ ।
कुपोषणको समस्या छ महिनादेखि पाँच वर्षका बालबालिका धेरै रहेको पाइएको छ ।
मधेसमा वार्षिक रूपमा एक लाख ४० हजार बालबालिका जन्म लिने गरेको छ । पाँच वर्षमुनिका मृत्युदर प्रति एक हजार जीवित बालबालिकामा ३३ मृत्यु तथा नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा २१ मृत्यु रहेको बताइएको छ । जसको मुख्य कारण कुपोषण नै रहेको विवरण सार्वजनिक गरिएको छ ।
विगत पाँच वर्षमा कुपोषणको समस्या कम नभएपछि समस्याको समाधानका लागि प्रदेश सरकारले जिल्लादेखि वडा सम्म पोषणसम्बन्धी कार्य गरिरहेको जनाएको छ ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुध्नप्रसाद सिंहले यस वर्ष प्रदेश सरकारले पोषणसम्बन्धी कार्यक्रमका लागि १० करोड रकम विनियोजन गरेको जानकारी दिनुभयो ।