काठमाडौं, असोज २५ :

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।

शनिबार शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा राष्ट्रपति पौडेललाई अचानक टाउको दुख्ने र वान्ता आउने समस्या देखिएको थियो। तत्पश्चात् उनलाई तत्काल अस्पताल लगिएको हो।

राष्ट्रपतिसँग तय भएको छलफल अब सोमबार बिहान १० बजेका लागि सारिएको छ।

यद्यपि, राष्ट्रपति बिरामी परे पनि प्रधानमन्त्री सुशीला कार्कीले शीतल निवासमै जेनजी प्रतिनिधिहरूसँग छलफल गरेको राष्ट्रपति कार्यालयका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

छलफलका लागि शनिबार बिहानै शीतल निवास पुगेका केही जेनजी प्रतिनिधिहरूले प्रवेश नपाएको भन्दै गेटबाहिर नाराबाजी समेत गरेका थिए।

यसअघि, शुक्रबार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित दलका प्रतिनिधिहरूसँग फागुन २१ गते हुने निर्वाचनबारे छलफल गर्दै तयारीमा जुट्न आग्रह गरेका थिए।