
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताएका छन् । ४५ औं खाद्य दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए।
भोकमरी सूचाङ्कमा सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी उल्लेख्य सुधार गरेको उनले जानकारी दिए । अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको उनको भनाई छ । हिमाली क्षेत्रमा रहेका जनतामा बढी खाद्य असुरक्षा रहेको उनले बताए । हिमाली क्षेत्रमा खाद्यन्नको पहुँच वृद्धि गर्नसके अझ सुधार ल्याउन सकिने अवस्था रहेको उनको भनाई छ । उनले हाल वर्षभर खान नपुग्ने कृषक परिवारको संख्या करिव ५५ प्रतिशत रहेको बताए। करिव ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न भएपनि यस क्षेत्रमा भूमि तथा श्रमिकको उत्पादकत्व न्यून रहेको उनको भनाई छ । उनका अनुसार कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव २५ प्रतिशत योगदान गरेको छ ।
उनले भने, ‘पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ । फलस्वरुप विगत २५ वर्षमा नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छ । सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी भोकमरी सूचाङ्कमा उल्लेख्य सुधार गरेको छ । तथापि अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको छ । खासगरी हिमाली क्षेत्रमा जनतामा बढी खाद्य असुरक्षित जनसंख्या रहेको सन्दर्भमा खाद्यन्नको पहुँच वृद्धि गर्नसके सो मा सुधार ल्याउन सकिने अवस्था छ । नेपालको विद्यमान अवस्थालाई हेर्दा कृषि गणना २०७८ अनुसार नेपालमा किसान परिवारको संख्या ४९ लाख ३० हजार रहेकामध्ये वर्षभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव २५ प्रतिशत योगदान गरेको भएतापनि करिब ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न हुनुपर्ने अवस्थाले गर्दा यस क्षेत्रमा भुमी तथा श्रमिकको उत्पादकत्व असाध्यै न्युन रहेको छ ।’
उनले बसाईंसराई, अव्यवस्थित सहरीकरण लगायतका कारण खेतीयोग्य जमिनमा ह्रास आउने क्रम बढेको पनि बताए ।