मनाङ, असोज ७ :

याक र हिउँचितुवा संरक्षणका लागि हिमाली जिल्ला मनाङको हाइ अल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल भैइरहेको छ ।

बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एन्ट फाउण्डेसनको संयुक्त आयोजनामा मनाङमा मैत्रीपूर्ण खेल भैइरहेको हो।

मनाङको प्रकृतिको संरक्षणलाई प्राथमिकता दिएर स्थानीयवासीमा हिउँचितुवा, याक लगायत वन्यजन्तुको संरक्षणमा लाग्न अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा सूचित गर्ने तथा पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यले खेल आयोजना गरिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

यही असोज ३ देखि ७ गतेसम्म समुद्री सतहबाट दुई हजार छ सय मिटर उचाइमा रहेको तिमाङमा पहिलो खेल भइरहेको छ ।

त्यस्तै तीन हजार पाँच सय मिटर उचाइमा रहेको मुङ्जीमा अवस्थित मैदानमा आज मैत्रीपूर्ण खेल प्रदर्शन हुने जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा. पारस विक्रम सिंहले जानकारी दिनुभयो ।

काजिनसरा याकको खेल सकिएको छ भने आज मनाङ ङिस्याङ याकको खेल हुने छ।

खेलको रौनकले मनाङवासीलाई खुसी बनाउनुका साथै याक र हिउँचितुवा संरक्षणबारे अझ बढि चेतना जागृत गराएको आयोजक एन्ट फाउण्डेसनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिनुभयो।