मुस्ताङ, कात्तिक १४ :

हिमपातका कारण मुस्ताङको हिडन भ्याली क्षेत्रमा फसेका १५ पदयात्रीको सफल उद्धार गरिएको छ। 

हिमपात भइरहेको बेला पदयात्रामा गएका पर्यटक समस्यामा परेको खबरपछि मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले उनीहरुको उद्धार गरेको हो ।

हिमपातका कारण ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना सोमबार साँझदेखि हिडन भ्यालीमा परेको बाक्लो हिउँमा फसेका थिए।

सुरक्षाकर्मीहरूको तत्कालको पहल र कठिन भौगोलिक परिस्थितिमा गरिएको उद्धारका कारण सबै पदयात्री सुरक्षित अवस्थामा ल्याउन सफल भएको जनाइएको छ। स्थानीय प्रशासनले समयमै उद्धार कार्य सञ्चालन गर्ने सबै सुरक्षाकर्मीलाई विशेष धन्यवाद दिएको छ।

उक्त स्थान धवलागिरी र सीता हिमाल बीचको पास पार गरेपछि पर्ने टुक्चेपीको पछिल्लो पाखामा, समुद्र सतहदेखि करिब ५ हजार १ सय मिटर उचाइमा अवस्थित छ।