काठमाडौं, कात्तिक १७ :

अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएर नयाँ राजनीतिक दल खोल्न लागेको भन्ने समाचारको खण्डन गरेका छन् ।

राजनीतिमा प्रवेश गर्न राजीनामा दिने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारबारे उनले सोमबार फेसबुकमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्पष्ट पारेका छन् ।

फेसबुकमार्फत उनले लेखेका छन्,‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै सत्यता छैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।’

उनले हालको अन्तरिम सरकार जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको भन्दै जनताको आशा र विश्वास पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। घिसिङले भने, ‘म निरन्तर आन्दोलनले दिएको जनादेश र जनविश्वास पूरा गर्न प्रतिबद्ध छु।’