काठमाडौं, कात्तिक २५ :

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबार मध्यान्हदेखि पुन: पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। 

बैठकमा  विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे मतभेद चर्किएको छ। महामन्त्री गगन थापाले नियमित महाधिवेशन समयमै हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै कार्यतालिका प्रस्तुत गर्न नदिएपछि केही दिनअघि बैठक बहिष्कार गरेका थिए।

सभापति शेरबहादुर देउवा उपचारका लागि विदेशमा रहेका कारण पछिल्ला दिनमा पार्टीका महत्वपूर्ण निर्णयहरू रोकिएका छन्। देउवा निकट समूहले नियमित महाधिवेशन निर्वाचनपछि मात्रै हुनुपर्ने पक्ष लिँदै आएको छ भने संस्थापनइतर समूहले विशेष महाधिवेशन तत्काल गर्नुपर्ने माग गर्दै आएको छ।

बैठकमा संसद पुनःस्थापना, आगामी निर्वाचन, विशेष महाधिवेशन र हालको राजनीतिक अवस्थाबारे नेताहरूले आ-आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ। 

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह–महामन्त्री तथा केन्द्रीय सदस्यहरू सहभागी छन्।