ढाका, मंसिर १ :

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतमा निर्वासनमा बसिरहेकी उनलाई अनुपस्थितमै अभियोजन र सुनुवाइ प्रक्रिया अघि बढाइएको हो। ४५३ पृष्ठ लामो फैसलाको फैसला बांग्लादेश टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो । गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोप छ ।

हसिनाको फैसलालाई लिएर सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ। फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

फैसला आउनुअघि नै हसिनाले आफूविरुद्धका आरोपहरू झूटो भएको र यस्ता फैसलाहरूलाई आफूले पर्वाह नगर्ने बताएकी छन्। ‘यति सजिलो छैन, अवामी लीग जरा–जरा गाउँबाट उठेको पार्टी हो, कुनै सत्ता हत्याराको खल्तीबाट जन्मिएको होइन,’ ७८ वर्षीया हसिनाले बंगालीमा भनेकी छिन्।