
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
जेनजी आन्दोलन सुशासन र पारदर्शिताका सकारात्मक उद्देश्यसहित शुरू भए पनि त्यसमा गलत समूहको घुसपैठ बढेपछि तोडफोड र आगजनीजस्ता घटना चर्किएको भन्दै सरकारले यस्ता तत्वविरुद्ध कडा कारबाही गर्न ढिलाइ गर्न नहुने बताए ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र सदैव सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी मागको समर्थनमा रहेको स्मरण गराउँदै अवसरवादी घुसपैठका कारण व्यवसायी र सर्वसाधारण दुवैको मनोबल कमजोर बन्दै गएको बताए।
उनका अनुसार निजी क्षेत्रको सम्पत्ति सुरक्षित नहुने अवस्था सिर्जना भएमा नयाँ लगानी रोकिँदै जाने र मौजुदा लगानीकर्तासमेत निरुत्साहित हुने खतरा बढ्दै गएको छ।
ढकालले भने, ‘जेनजी आन्दोलनको उद्देश्य पवित्र थियो। हामीले पनि साधारण सभामार्फत समर्थन गरेका थियौँ। तर गलत तत्व प्रवेश गरेपछि चोरी, आगजनी, लुटपाट र व्यापक तोडफोड भयो। यी घुसपैठकर्तालाई कारबाही नगर्ने हो भने व्यवसायी मात्र होइन, आम नागरिकको मनोबल झनै खस्किन्छ।’
ढकालले जलविद्युत् आयोजना लामो समयदेखि आईपीओ निष्कासन अनुमति नपाइरहेको विषयप्रति असन्तुष्टि जनाउँदै धितोपत्र बोर्डमा देखिएको समस्या तत्काल समाधान गर्न अर्थमन्त्रीलाई आग्रहसमेत गरे।