
का केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् ।
भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो गुल्मीमा पाइन्छ ।
वर्षात्का समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो टिपेर बित्ने गर्छ ।
जिल्लाको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन् ।
उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् ।
गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदी लगायत जङ्गलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्याएको छ।
उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जङ्गलमा एक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन् ।
एउटा मुठाको मूल्य सदरमुकाम तम्घाससम्म पुऱ्याउँदा साना मुठाको ३० देखि ठूला मुठाको ५० सम्ममा बिक्री गर्ने गरेको गुल्मी धुर्कोट गाउँपालिका- ५ की चन्द्रकली कुमाल बताउनुहुन्छ ।
“दिनभर जङ्गलमा जानुपर्यो, पानी परेका बेलामा पनि रुझ्दै टिप्नु पर्छ, जङ्गलमा जुका लागेर हैरान हुन्छ, जङ्गलमा सित्तै भेटिन्छ भनेर के गर्नु दुःख त कति छ कति”, उहाँले भन्नुभयो।
उहाँजस्तै जङ्गलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुग्नुभएकी मीना राना आफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजाने गरेको बताउनुहुन्छ ।
निहुरो बेचेर घर खर्च चलाउन ठूलो राहत पुगेको उहाँले बताउनुभयो ।
बर्खाको समयमा जङ्गलदेखि दुई दिनको समय खर्चेर सदरमुकाम सम्म पुर्याउन त्यति सहज भने छैन ।
गुल्मीको निहुरो सदरमुकाम तम्घास मात्र होइन, अर्घाखाँचीदेखि बुटवल र काठमाडौँका तरकारी पसलसम्म पुग्ने गरेको व्यापारी बताउँछन् ।
आजभोलि कोसेलीका रुपमा समेत निहुरो बढी मात्रमा बुटवलदेखि काठमाडौँसम्म पठाउने गरिएको स्थानीयको भनाइ छ ।