
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको वर्तमान परिस्तिथिमा केपी ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले जेनजी आन्दोलन अघि र पछि केपी ओली नेतृत्वको सरकार र एमालेलाई चौतर्फी घेराबन्दी र बद्नमा गर्ने प्रयास भएकाले फेरी पनि पार्टीको अध्यक्षमा ओलीलाई नै निरन्तरता दिनुपर्ने बताएका हुन् ।
जनताको बहुदलीय जनवादका उत्तराधिकारीका हिसाबल समेत आगामी महाधिवेशनबाट ओली एमालेको अध्यक्ष बन्नुपर्ने उनको भनाइ छ । केही व्यक्तिहरु सडकबाट एमालेको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठाउने गरेको भन्दै गुरुङले सडकमा उठेको आवाजकै कारणले पार्टीले आफ्नो नेता परिवर्तन नगर्ने स्पष्ट पारे ।
उनले राष्ट्रियताका पक्षमा राखेका अडानका कारण एमाले र केपी ओलीमाथि प्रहार भएको जिकिर गरे। उपमहासचिव गुरुङले निर्वाचन गर्ने वर्तमान सरकारको नियत नरहेको आरोप लगाए । निर्वाचनको परिणाम आफू अनुकुल आउने अवस्था नआएसम्म वर्तमान सरकारले निर्वाचन नगर्ने उनको भनाइ छ ।