सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र,यस्तो छ कार्यतालिका

निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ ।
· शुक्रबार, १९ मंसिर, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र,यस्तो छ कार्यतालिका
काठमाडौं, मंसिर १९ :

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ ।

निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक  तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।

आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ ।

समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ ।

यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ ।

आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार