काठमाडौं, मंसिर २२ :

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले आईजीपी दानबहादुर कार्कीसँग बयान लिएको छ। आयोगले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर कार्कीसँग बयान लिएको हो। उनी जेनजी आन्दोलनका क्रममा उपत्यका प्रहरी परिसर रानीपोखरीका प्रमुख थिए।

आयोगले उनीसँग भदौ २३ गते एकै दिन ७६ जना युवाको हत्या हुनुका पछाडि प्रहरीको भूमिकाबारे सोधपुछ गरेको छ। उनीसँगको बयान भोलि पनि जारी रहने बताइएको छ ।

आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङसँग यसअघि नै बयान लिइसकेको छ। जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई पनि आयोगले बयानका लागि बोलाउने तयारी गरिरहेको छ। तर,ओलीले आफू बयानका लागि आयोग समक्ष उपस्थित नहुने बताउँदै आएका छन्।