काठमाडौं, मंसिर २३ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा बृहत् प्रदर्शन र सभा गरेको छ ।  रत्नपार्कस्थित शान्तिबाटिकामा भएको सभालाई अहिले राप्रपाका नेताहरुले सम्बोधन गरिरहेका छन् । 

राप्रपा नेतृ खुस्बु ओलीले ७६ जना मर्दा पनि यो देशमा मै प्रधानमन्त्री हुन्छु भन्दै नेताहरु अग्रसर भएकोप्रति तीव्र आलोचना गरिन् । उनले नेपाली सेनाले विश्वास नगरेको राष्ट्रपतिको ठाउँमा राजालाई स्थापित गरेर संवैधानिक राजसंस्था र अब्बल प्रजातन्त्रको समन्वय गरेर यो देशलाई विकासको पथमा लम्बाउने बताइन् ।

साथै उनले नेताहरुको राजासँग दाज्न नमिल्ने भन्दै देशलाई संकट पर्दा सारा नेपालीले राजालाई सम्झेको उनको भनाइ थियो । जनतालाई छाडेर भाग्ने राष्ट्रपति अभिभावक बन्न नसक्ने समेत बताइन् ।

राजा,राजनीतिक दल र जेनजीबीच नविन समझदारी गरौं भन्दै राप्रपाले यो प्रदर्शन गरेको हो ।संविधानमा व्यापक सुधार गर्ने, गोलमेच सम्मेलन गरेर दीर्घकालिन व्यवस्थाका लागि राप्रपाले जोड दिँदै आएको छ ।  राजसंस्थाको वकालत गर्दै आएको राप्रपाले राजा सबैको साझा भएको बताएको छ ।  सहरका विभिन्न भागबाट निस्केको र्‍याली रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको हो।