काठमाडौं, मंसिर २४ :

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत ककनी पुगेपछि स्थानीयबासिन्दाले उनलाई उत्साहपूर्ण स्वागत गरेका छन्। करिब एक दशकसम्म विकट र असुविधाजनक सडकका कारण सास्ती व्यहोर्दै आएका ककनीवासीले आफ्नै घर–आँगनसम्म पिच सडक पुगेको खुसी बाँड्दै महतप्रति आभार व्यक्त गरेका हुन्।

मंगलबार नेपाली कांग्रेस ककनीले आयोजना गरेको सडक निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमका लागि रानीपौवा पुगेका महतलाई स्थानीयले स्वतःस्फूर्त रूपमा पुष्पवृष्टिसहित स्वागत गरेका थिए। कांग्रेस नेता तथा कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गर्दै महतलाई निरीक्षण मार्ग हुँदै रानीपौवा पुर्‍याएका थिए।

अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. महतले आफू अर्थमन्त्री भएको समयमा नै १ अर्ब ३२ करोड रुपैयाँको बजेट सुनिश्चित गरी बहुवर्षीय योजनाका रूपमा सडक निर्माण प्रारम्भ गरेको स्मरण गराए। ‘म पहिलोपटक अर्थमन्त्री हुँदा यो सडकको पीडा देखेर १ अर्ब ३२ करोडको स्टिमेटअनुसार रकम विनियोजन गरेको थिएँ। तीन वर्षपछि आज योजना पूरा हुने अवस्थामा छ, म अत्यन्तै खुशी छु,’ उनले भने।

उनका अनुसार दोस्रो वर्षको बजेट ल्याउने अवसर पाएको भए नुवाकोटमा अझ धेरै विकासका काम अघि बढ्न सक्ने थियो। ककनीसम्म पक्की सडक बनेसँगै पर्यटकको आकर्षण बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने र गाउँका उत्पादन एक घण्टामै काठमाडौं पुर्‍याएर बिक्री गर्न सकिने सहजता बढेको उनले बताए।

महतले रानीपौवादेखि पिपलटारसम्मको सडक स्तरोन्नतीका लागि पनि पहल भइरहेको उल्लेख गर्दै नुवाकोटका प्रत्येक पालिकामा कम्तिमा एक पक्की सडक र गाउँगाउँमा दुई–तीनवटा मोटरबाटो निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिए।

ककनी कांग्रेसका सभापति भाग्यश्री लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति तथा प्रदेश सांसद रमेश महत, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, तादी गाउँपालिकाका पूर्व अध्यक्ष नारायण पाण्डेलगायत सहभागी थिए।

 कार्यक्रममा डा. महतकै पालामा बालाजु–रानीपौवा सडकका लागि बजेट विनियोजन गरेर काम अघि बढेको स्मरण गरियो, जसअनुसार अहिले रानीपौवाको सडक कालोपत्रे हुने अन्तिम चरणमा पुगेको छ।