
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल नभएको स्पष्ट पारेका छन्।
अदालतको तारेखमा हाजिर हुन भैरहवा जानुअघि मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले सोमबार भएको भेटमा एक-अर्कालाई बुझ्ने विषयमै केन्द्रित रहेको बताए।
बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘हामी त्यसमा प्रवेश गरेका छैनौँ। पहिले त थाहा पाउनुपर्यो, कुराकानी हुनुपर्यो। के कस्तो अवस्था छ भन्ने बुझ्नुपर्यो। एक–अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्यो।’
सोमबार काठमाडौँमा मेयर बालेन शाह र सभापति लामिछानेबीच भेटवार्ता भएको थियो। उक्त भेटबारे स्पष्ट पार्दै लामिछानेले राजनीतिक विषयमा क्रमशः प्रवेश गरिने बताए। ‘विस्तारै राजनीतिक कुरामा हामी प्रवेश गर्छौँ,’ उनले भने।
नयाँ शक्तिहरूसँग संवाद गर्ने पार्टीको नीति अनुरूप नै बालेनसँग भेटघाट गरिएको उनको भनाइ छ।
उनले बालेनसँग मात्र नभई अन्य राजनीतिक व्यक्तित्व तथा शक्तिहरूसँग पनि संवाद अघि बढाइने जानकारी दिए। उनले भने, ‘कुलमानजीसँग पनि कुराकानी गर्छौँ। सबैसँग संवाद गरेर एक ठाउँमा आउनका लागि प्रयास गर्छौँ।’