
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र मुख्य राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने समझदारी भएको बताएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको उच्चस्तरीय वार्ताले चुनावमा जाने निष्कर्ष निकालेको उनले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै तथा सरकारका प्रवक्ता खरेलले भने, “एमालेका अध्यक्ष ओलीले स्पष्ट रूपमा एमाले चुनावमा जान तयार छ, तर सरकारले वातावरण बनाओस् भन्नुभएको छ । कांग्रेस सभापति देउवाले पनि अब संसद् पुनःस्थापना नभइ निर्वाचनमा जाने कुरालाई स्पष्टसँग भन्नुभएको छ ।”
आजको बैठकपछि चुनाव हुन्छ कि हुन्न भन्ने दुविधा र चुनावमा राजनीतिक दलले भाग लिन्छन् कि लिँदैनन् भन्ने संका पनि टरेको उनको भनाइ थियो । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि तोकिएको मिति फागुन २१ मै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको पनि प्रवक्ता खरेलले जानकारी दिए ।
उनले भने, “संयोजक दाहालले निर्वाचनको लागि आफ्नो पार्टी तयार रहेको मात्रै नभइ एमालेका अध्यक्ष ओलीलाई निर्वाचनका लागि तयार हुन पनि आग्रह गर्नुभएको छ, उहाले सरकारले गरेको कामको पनि प्रशंसा गर्नुभएको छ ।”
सभापति देउवाले बैठकमा कांग्रेसको अबको एजेण्डा संसद् पुनःस्थापना नभइ चुनाव भएको उल्लेख गर्दै चुनावका लागि तयार हुन अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको पनि मन्त्री खरेलले जानकारी दिए । बैठकमा फागुन २१ गते हुने निर्वाचनको समयमा मौसमले साथ नदिएको खण्डमा के गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो ।
उनले भने, “फागुनमा हिउँ पर्नसक्ने वा तपाईमा हुने पर्वका कुरा पनि उठेका छन्, तर प्रधानमन्त्रीज्यूले सरकारले फागुन २१ मै निर्वाचन गर्ने म्यान्डेड छ भनेर कुरा राख्दा उहाँहरूले त्यसमा अरु कुरा गर्नुभएको छैन । सरकारको लक्ष्य चुनाव गराउने हो, यो भन्दै गर्दा भ्रष्टाचार र सुशासनका कुरा पनि सँगसँगै छ ।”
मन्त्री खरेलले फागुन २१ गते चुनाव सम्पन्न गर्ने लक्ष्यसहित त्यसमा आइपर्ने चुनौती र समस्याबारे प्रष्ट पार्दै अगाडि बढ्ने सरकारको योजना रहेको पनि सुनाए ।