काठमाडौं, पुस २१ :

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पूर्वपदाधिकारी तथा थरुहट/थारुवान अभियन्ताहरूबीच समायोजन भएको छ। सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई दल जोडिएको हो । समायोजनसँगै  ९ बुँदे सहमति पत्र सार्वजनिक गरिएको छ।

सहमति अनुसार जेनजी आन्दोलनलगायत विभिन्न जनआन्दोलनका शहीद–घाइतेको योगदानलाई सम्मान गर्दै सामाजिक न्याय, सुशासन र आर्थिक–सामाजिक उन्नयनका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ। दलको नाम, चुनाव चिह्न र झण्डा रास्वपाकै रहने सहमति भएको छ।

साथै थारु समुदायको धार्मिक–सांस्कृतिक संरक्षणका लागि संविधानअनुसार थारु बहुल क्षेत्रलाई ‘विशेष संरक्षित क्षेत्र’ घोषणा गर्न कानुनी प्रक्रिया अघि बढाउने समझदारी पनि भएको छ। 

सहमति पत्रमा रास्वपाका उपसभापति डीपी अर्याल, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन्।