
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान, लोकतन्त्र र पार्टी एकताको रक्षा अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।
कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा नेता शेखर कोइरालाले भिडियो सन्देश गर्दै कांग्रेसको इतिहास, बीपी कोइरालाको मेलमिलापको सिद्धान्त र पार्टीभित्रको लोकतान्त्रिक अभ्यास स्मरण गर्दै आफू विधि, विधान र शान्त प्रक्रियाबाट पार्टी रूपान्तरणको पक्षमा रहेको स्पष्ट पारे।
राजनीतिक अन्योल र संविधानमाथि देखिएको संकटप्रति चिन्ता व्यक्त गर्दै उनले निजी पद वा शक्ति प्राप्तिको कुनै महत्त्वाकांक्षा नभएको र कांग्रेसको एकता तथा विधानको कार्यान्वयनका लागि अन्तिमसम्म संघर्ष गर्ने प्रतिबद्धता जनाए।
विशेष महाधिवेशनको सन्दर्भमा उनले विभाजन होइन, सहमति, सहकार्य र सहअस्तित्वमार्फत एकताबद्ध कांग्रेस निर्माण गर्न आह्वान गरे। महाधिवेशन प्रतिनिधिहरूलाई ऐतिहासिक दायित्वबोधका साथ पार्टी हितमा निर्णय लिन आग्रह गर्दै उनले एकताबाटै राजनीतिक निकास सम्भव हुने विश्वास व्यक्त गरे।