
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताएका छन् ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।
विशेष महाधिवेशनको उद्घाटन पार्टी सभापतिले नै गरेको हेर्न चाहेको भए पनि आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको बताए । थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं ।’
महामन्त्री थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरे । महामन्त्री थापाले भने, ‘कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’
उनले कांग्रेस कुनै 'बा'हरूको पनि पार्टी नभएको भन्दै कार्यकर्ताहरूको प्रयासले ज्युँदो कांग्रेस राख्ने प्रयास गरेको बताए । साथै, उनले बाहिर देखिएजस्तो कांग्रेसमा भित्र झगडा नभएर विचारको संघर्ष रहेको बताए ।