
कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका दैनिक उपभोग्य वस्तुको बजार अनुगमन सुरु गरेको छ । अनुसूची–२ को समूह ‘क’ अन्तर्गत आजदेखि खाद्यान्न, मासुजन्य पदार्थ, तरकारी, फलफूललगायतका वस्तुको अनुगमन कार्य थालिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार माघ महिनाभर सञ्चालन हुने बजार अनुगमनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ । तालिकाअनुसार प्रत्येक वडामा फरक–फरक मितिमा अनुगमन गरिनेछ । वडा नं. ९ मा माघ ७ र ८ गते, वडा नं. ८ मा ९ र ११ गते, वडा नं. ७ मा १२ र १३ गते, वडा नं. ६ मा १४ र १५ गते, वडा नं. ५ मा १८ र १९ गते, वडा नं. ४ मा २० र २१ गते, वडा नं. ३ मा २२ र २३ गते, वडा नं. २ मा २६ र २७ गते तथा वडा नं. १ मा २८ र २९ गते बजार अनुगमन गरिनेछ ।
अनुगमनका क्रममा खाद्य पदार्थ तथा खाद्यान्न, अप्रशोधित, अर्धप्रशोधित र प्रशोधित खाद्य सामग्री, तीमा प्रयोग हुने कच्चा पदार्थ, बिक्री स्थल तथा भण्डारण गृहको निरीक्षण गरिनेछ । साथै खाने तेल, घिउ, वनस्पति दूध तथा दुग्धजन्य पदार्थ, प्याकिङका लागि प्रयोग हुने प्लास्टिक, मसला पदार्थ, माछा, मासु र अण्डालगायतका सामग्रीको समेत अनुगमन गरिने नगरपालिकाले जानकारी दिएको छ ।
उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गुणस्तरीय तथा सुरक्षित खाद्य वस्तुको बिक्री सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ ।