काठमाडौं, माघ ११ :

प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा भावी प्रधानमन्त्रीका उम्मेदवारहरुबीच सार्वजनिक बहस हुनुपर्ने चर्चा चल्न थालेको छ । पार्टीहरुले घोषणा गरेर प्रधानमन्त्रीको उम्मेदवार तोकेकाहरुलाई एउटै मञ्चमा राखेर उनीहरुको मुखबाट भावी योजना र नीति सुन्न जनता चाहिरहेका छन् ।

आगामी नीति तथा कार्यक्रमबारे एउटै मञ्चमा राखेर सार्वजनिक बहस हुनुपर्ने माग भइरहेका बेला प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाहले सार्वजनिक बहसमा सहभागी हुन अस्वीकार गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली बहसका लागि तयार हुँदा शाहले विगतका घटनालाई उल्लेख गर्दै एउटै मञ्चमा उभिन नमिल्ने बताएका हुन्। बालेन त्यति बोल्दैनन् फेसबुकबाटै जवाफ दिने र आफ्ना कुरा राख्ने गरेका छन् ।  बालेन पहिलो पटक जनकपुरमा रास्वपाले गरेको चुनावी सभामा सार्वजनिक रुपमा बोलेका हुन् । जनताले भावी प्रधानमन्त्रीका कुरा सुन्न चाहेका छन् ।

सार्वजनिक बहसमा उपस्थित हुन आफू तयार रहेको ओलीले सामाजिक सञ्जालमा नै उल्लेख गरेका छन् । कसैको नाम उल्लेख नगरी ओलीले लेखेका छन्, 'देश जलाउने र देश बनाउने'को प्रतिस्पर्धामा आफू बहसमा सहभागी हुन तयार छु।’

ओलीको यही टिप्पणीमा प्रतिक्रिया दिँदै साहले आफू बहसमा सहभागी नहुने लेखेका छन् । तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गत्ते जलाएको हो,' बहस गर्न अस्वीकार गर्दै उनले लेखेका छन्, 'आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।' उनीहरु दुवै जना झापा -५ का प्रतिस्पर्धी हुन् ।

यस्तै नेपाली कांग्रेसले पनि सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको अवस्था छ । सार्वजनिक बहस गर्ने विषयमा भने सर्लाही-४ का उम्मेदवार समेत रहेका थापाले कुनै टिप्पणी गरेका छैनन् । ओली र बालेन तयार भएको खण्डमा थापा पनि बहसका लागि तयार हुने उनी निकट एक नेताले बताएका छन् ।