
नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरु नभइ प्रचण्ड भागिरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिस्ट एकताबाट भागेर प्रचण्ड लगाएतका केही नेताहरुले गम्भीर त्रुटि गरिरहेको समेत बताए । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरुसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए ।
प्रचण्डले एकताका लागि केहीदिन अघि गरेको आह्वानमा विप्लवले बिचलनकारीहरुले एकताको अपिल गरेको नसुहाउने धारणा राखे । उनले जनतासँग सम्पूर्ण रुपमा जोडिएको शक्तिले मात्रै एकताको अपिल गर्न सुहाउने तर्क गरे ।
माओवादी आन्दोलनलाई विर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफूहरु सहभागी नहुने उनले स्पष्ट पारे । उनले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य विचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी र रास्वपाका केहि नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी) मा समाहित भएका थिए ।