कञ्चनपुर, माघ १६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को सुदूरपश्चिम भ्रमणमा जनस्तरमा ठूलो उत्साह देखिए पनि उनले समर्थकसँग प्रत्यक्ष संवाद नगरी सामाजिक सञ्जालमै सीमित भएको विषय चर्चामा आएको छ।

कैलालीको लम्कीबाट सुरु भएको सुदूरपश्चिमको चुनावी अभियानका क्रममा बालेनले कैलाली र कञ्चनपुरसहित सात पहाडी जिल्लाको भ्रमण गरे । पार्टी कार्यालय तथा उम्मेदवारका सम्पर्क कार्यालयहरूमा पुगेर घण्टी बजाउने, उपस्थित समर्थकबीच देखिने र तस्बीर खिच्ने काम गरे पनि उनले कुनै पनि स्थानमा सार्वजनिक सम्बोधन वा खुला संवाद गरेनन्।

भ्रमणका क्रममा बालेनले समर्थकहरूसँग प्रत्यक्ष संवाद नगरेको भन्दै स्थानीयस्तरमा मिश्रित प्रतिक्रिया देखिएको छ । पार्टी कार्यकर्ता र शुभेच्छुकहरू उनको एक झलक र संवादको अपेक्षामा रहेका बेला बालेन भने सामाजिक सञ्जालमा सक्रिय देखिए। यात्राका क्रममा उनले डोट्याली भाषामा स्टाटस लेख्दै फोटोहरू पोष्ट गरे, जुन सामाजिक सञ्जालमा भाइरल बने।

धनगढी हुँदै कञ्चनपुरको पुनर्बास, शुक्लाफाँटा र महेन्द्रनगर पुगेका बालेनले पार्टी कार्यालयहरूमा छोटो उपस्थिति जनाए पनि समर्थकसँग खुला कुराकानी नगरेको स्थानीय नेताहरूले बताएका छन्। डडेल्धुराको ‘बाजेको खीर’ खाएको तस्बीर, हिमाल र स्थानीय स्थानहरूको अवलोकन गर्दै खिचिएका फोटोहरू भने सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भए।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीको अभियान सकेर बालेनको टोली कर्णालीतर्फ प्रस्थान गरिसकेको छ। रास्वपाका नेताहरूका अनुसार उनी हाल कालिकोटको मान्म पुगेका छन्।

पार्टीका नेताहरूले निर्वाचन आचारसंहिताका कारण बालेनले सार्वजनिक सम्बोधन नगरेको दाबी गरे पनि, चुनावी अभियानकै क्रममा समर्थकसँग संवाद नगरी सामाजिक सञ्जालमार्फत मात्र अभिव्यक्ति दिनुले फरक सन्देश गएको टिप्पणी भइरहेको छ।

बालेनप्रतिको जनचासो र क्रेज अत्यधिक देखिए पनि प्रत्यक्ष संवादको अभावले अभियानको प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ। समर्थकसँग भेटघाटभन्दा स्टाटस लेख्दै पोस्ट गर्नमै केन्द्रित रहेको यो यात्रालाई लिएर राजनीतिक वृत्तमा विभिन्न विश्लेषण हुन थालेका छन्।