काठमाडौं, माघ २६ :

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ मा रहेको दिप्सन बेकरीमा अखाद्य सामग्री प्रयोग गरी केक उत्पादन गरिएको पाइएको छ ।

 नगरपालिकाको बजार अनुगमन शाखा र नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सोमबार गरेको अनुगमनका क्रममा उक्त तथ्य फेला परेको हो ।

अनुगमनका क्रममा बेकरी फोहोर तथा लापरबाहीपूर्ण ढंगले सञ्चालन भइरहेको पाइएको भन्दै सञ्चालकलाई तीन दिनभित्र सरसफाइ तथा स्वास्थ्य मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यस्तै, वडा नम्बर ५ मै सञ्चालनमा रहेको झापाली मिट सपमा बङ्गुरको मासु नछोपी खुला रूपमा राखिएको र अस्वस्थ वातावरणमा मासु बिक्री भइरहेको पाइएको छ । सोही क्षेत्रमा रहेको ढकाल डेरी नामक पसल दर्ता नगरी सञ्चालन गरिएको र डेरीको नाममा किराना तथा सूर्तीजन्य पदार्थसमेत बिक्री भइरहेको भेटिएको छ ।

डब्लु ओ सी मिट मार्टमा पनि फोहोर अवस्था तथा झिँगा भन्किरहेको वातावरणमा मासु बिक्री भइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ । ती सबै पसलका सञ्चालकहरूलाई तोकिएका मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न कडा निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा वडा नम्बर ५ का अधिकांश खाद्य सामग्री बिक्री केन्द्रहरूको अवस्था सामान्य भेटिए पनि केही पसलहरूको नवीकरण बाँकी रहेको पाइएको छ । ती पसलहरूलाई सात दिनभित्र नवीकरण गर्न नगरपालिकाले निर्देशन दिएको छ ।

यसैबीच, सार्वजनिक स्थानमा होटल सरह कुर्सी, टेबल राखी सडक छेउ तथा जोखिमयुक्त स्थानमा सञ्चालन गरिएका पसलहरू तत्काल हटाउन भोलिसम्मको समयसीमा दिइएको छ । 

दुर्घटनाको उच्च जोखिम हुने स्थानमा यसरी पसल सञ्चालन गर्नु मापदण्डविपरीत र स्थानीयवासीका लागि जोखिमपूर्ण हुने भन्दै पुनः त्यस्तो कार्य गरे नगर प्रहरी कार्यालयबाट कारबाही गरिने चेतावनी दिइएको छ ।