काठमाण्डौँ , असोज १५ :

‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव आयोजना हुने भएको छ। 

यसअघि यही असोज १३ गते तय भएको उक्त मेलाको मिति प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्का कारण तीन दिनपछि सारिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा हुने मेला घरेलु तथा साना उद्योग सङ्घ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा गर्न लागिएको हो । 

सङ्घका सचिव तथा मेला संयोजक जीतेन्द्रकुमार श्रेष्ठले महानगरपालिकासँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौँ जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको काठमाडौँ जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी गर्न लागिएको बताउनुभयो ।

महानगरका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।