झापा, फागुन १० :

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै देश र जनताका पक्षमा उभिएको बताएका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमिसनको खेलमा नलागेको हुँदा चौतर्फी प्रहार र झुटा लाञ्छनाको निशाना बनाइएको बताए ।

देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै अध्यक्ष ओलीले पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताए । ओलीको सो भनाइ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित थियो ।

एमाले मात्रै देशको रक्षा गर्नसक्ने पार्टी भएको दाबी गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्नै नसक्ने बताए । उनले एमाले मात्र देशको सार्वभौमसत्ता र अखण्डता बचाउन सक्षम रहेको जिकिर गर्दै कुनै कठपुतलीसँग नडराउने बताए। ‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, फेरि पनि गर्नेछैन । तर ममाथि यत्रो प्रहार किन ? ओलीको प्रश्न थियो ।