काठमाडौं, फागुन १८ :

नेपाल आयल निगमले पेट्रोलियम आपूर्तिमा तत्काल कुनै समस्या नपर्ने बताउँदै उपभोक्तालाई अनावश्यक नआत्तिन र भन्डारण नगर्न आग्रह गरेको छ। मध्यपूर्व संकटले पेट्रोलियम पदार्थको आयातमा समस्या पर्न सक्ने आशंकामा अहिले सबैजसो पेट्रोल पम्पमा सवारी साधनको लाइन देख्न सकिन्छ । काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा पेट्रोल र डिजेल भर्नेको भिडभाड बढेको छ ।

इरानमाथिको अमेरिकी सैन्य आक्रमणले मध्यपूर्वको तनाव बढेको छ र विश्वव्यापी पेट्रोलियम आपूर्तिमा गम्भीर  असर पर्ने आकलन गरिएको छ । द्वन्द्व सुरुवातसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशतसम्म वृद्धि भइसकेको छ ।

इरान विश्वका प्रमुख कच्चा तेल उत्पादक राष्ट्रमध्ये एक हो । भारतले आफ्नो आवश्यकताको ठूलो हिस्सा मध्यपूर्वबाट आयात गर्ने गरेको छ ।
भारतबाट नेपाल आउने पेट्रोलियम पदार्थ आपूर्तिमा कमी आउन सक्ने र मुलुकमा पेट्रोलियम पदार्थ अभाव हुन सक्ने आशंका उपभोक्तामा बढेको छ । नेपाल आफ्नो सम्पूर्ण पेट्रोलियम पदार्थको आपूर्तिका लागि भारतमा निर्भर छ ।