काठमाडौं, चैत ९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट आज सुनुवाइ हुँदैछ ।

विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको छ ।  महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेपछि आजबाट पुनः सुनुवाइ हुन लागेको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । महान्यायाधिवक्ताको निर्णयविरुद्व वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र आयुष बडालले रिट दायर गरेका थिए ।