ललितपुर, चैत १५ :

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी समितिको जरुरी बैठक यही चैत १८ गते बुधबार दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए।

पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको उक्त बैठकमा उपस्थिति हुनका लागि समितिका सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । 

शनिबार बिहान नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए। कांग्रेसले खड्काले ‘कार्यवाहक सभापति’का रूपमा विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिएको छ। 

पार्टीका जिम्मेवार नेतालाई राज्यले धरपकड गर्दा पनि पार्टी नेतृत्वबाट कुनै प्रतिक्रिया नआइरहेको बेलामा देउवापक्षीय कांग्रेसको बैठक बसेर कार्यवाहक सभापतिको हैसियतमा खड्काले विज्ञप्ति निकालेर राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय भएको उल्लेख गरेका थिए ।

त्यसो त सोही दिन गगनकुमार थापा नेतृत्वको कांग्रेसको तर्फबाट प्रवक्ता देवराज चालिसले विज्ञप्ति निकालेर कारबाहीमा विभेद गरिएको भन्दै भदौ २३ मा सम्लग्नलाई कारबाही गरे जसरी नै २४ का दोषीलाई पनि कारबाही गर्न जोडदार माग गरिएको थियो ।