
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डीपी अर्यालले सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्ने बताएका छन् ।
आइतबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले संविधान र कानूनको पालना गर्दै सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले आफ्नो भूमिका निष्पक्ष हुने समेत बताए।
उनले संविधान, कानुन र जनताको लागि आवश्यक व्यवहारलाई समन्वय गरेर अघि बढ्ने समेत उल्लेख गरे । आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
सभामुखले कार्यभार सम्हाले
यसैबीच, प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका छन् ।
आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन्। उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए ।