काठमाडौं, वैशाख १३ :

मनोहरा खोलाकिनारका अतिक्रमित बस्ती हटाई त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा नेपाल प्रहरीले सहजीकरण गरिरहेको छ ।

आइतबार बिहानै डोजरसहित पुगेको टोलीले बस्ती भत्काउने काम अघि बढाएको छ। बस्ती वरपर उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने स्थानीयवासीको विरोधलाई नियन्त्रणमा राख्दै प्रहरीको उपस्थितिमा कार्य सञ्चालन भइरहेको छ।

यसअघि शनिबार बस्ती हटाउने प्रयास गर्दा स्थानीयवासीले ढुंगामुढा गर्दै कडा प्रतिरोध जनाएका थिए। उक्त घटनामा केही सुरक्षाकर्मी घाइते भएका थिए भने परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै डोजरसहितको टोली पछि हट्न बाध्य भएको थियो।

शनिबारको अवरोधपछि आज पुनः सुरक्षा व्यवस्थालाई सुदृढ बनाउँदै अभियान अघि बढाइएको हो। प्रहरीले बस्ती हटाउने कार्यलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ। स्थानीयवासीले भने आफूहरूलाई उचित वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै विरोध  जनाएका छन्। 

यसैबीच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मनोहरा नदी किनारका अतिक्रमित बस्ती खाली गराउने कार्यको अवलोकन गरेका छन् । त्यसक्रममा उनले भूमिहीन नागरिकलाई उचित व्यवस्थापन र सुरक्षित स्थानमा सार्ने कामबारे  जानकारी लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।