
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बिहीबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड तथा विमानस्थलको आपतकालीन योजना अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा पूर्णस्तरको आपतकालीन नमूना उद्धार अभ्यास गरेको छ।
अभ्यासका क्रममा आकस्मिक रूपमा विमानमा आगलागी भएको परिकल्पना गरी दमकल, सुरक्षाकर्मी तथा उद्धार टोलीले समन्वयात्मक रूपमा आगो नियन्त्रण गर्ने, यात्रु उद्धार गर्ने तथा घाइतेलाई सुरक्षित स्थानमा सार्ने अभ्यास प्रदर्शन गरेका थिए। दमकल टोलीले जहाजमा लागेको आगो तत्काल नियन्त्रणमा लिने कार्यको नमूना प्रस्तुत गरेको थियो।
यस प्रकारका अभ्यासले आकस्मिक दुर्घटनाको अवस्थामा छिटो, प्रभावकारी र समन्वयात्मक रूपमा प्रतिक्रिया दिन सहयोग पुग्ने विश्वास प्राधिकरणले जनाएको छ। केही महिनाअघि त्रिभुवन विमानस्थल नजिकै भएको विमान दुर्घटनामा चालक बाहेक अन्य सबैको ज्यान गएको घटनालाई समेत मध्यनजर गर्दै यस्ता अभ्यासलाई निरन्तरता दिइँदै आएको बताइएको छ।
विमानस्थलमा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र उद्धार क्षमतालाई सुदृढ बनाउन यस्ता अभ्यासहरू समय–समयमा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।
तस्बिर रासस ।