
कागेश्वरी मनोहरा नगरपालिकाले घरबहाल कर सङ्कलनका लागि वडास्तरीय कार्यक्रम सञ्चालन गरेको छ।
नगरपालिकाको राजस्व शाखाले नगरका विभिन्न वडामा कार्यक्रम गरी घर, कोठा, सटर वा भवन भाडामा दिई आम्दानी लिने घरधनीलाई घरबहाल कर तिर्न आग्रह गरेको छ। यसैक्रममा आज वडा नं ८ मा कार्यक्रम गरियो ।
त्यसअवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरको विकासका लागि आन्तरिक स्रोत सुदृढ हुनु आवश्यक रहेको बताए।
उनले स्थानीय सरकारले जन्मपूर्वदेखि मृत्युपश्चातसम्मका सेवा प्रवाह गर्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा बाटोघाटो व्यवस्थापनका लागि कर नै मुख्य आधार भएको बताए। उनका अनुसार पहिले स्थानीय तहमा बाह्य स्रोतको निर्भरता बढी भए पनि अहिले आन्तरिक राजस्वले नै धेरै जिम्मेवारी धान्न थालेको छ।
नगरपालिकाले समयमै कर बुझाई जरिवाना तथा कानुनी झन्झटबाट मुक्त हुन घरधनीलाई प्रोत्साहनसमेत गरेको छ। कर तिर्नका लागि घरधनीले नागरिकताको प्रतिलिपि, घरभाडा सम्झौता, घर तथा भवन करको विवरण र भाडामा बस्ने व्यक्तिको विवरणसहित सम्बन्धित वडा कार्यालयमा उपस्थित हुनुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले घरबहाल करबाट प्राप्त राजस्व नगर विकास, पूर्वाधार निर्माण, फोहोरमैला व्यवस्थापन, सडकबत्ती, खानेपानीलगायत सार्वजनिक सेवाको सुधारमा प्रयोग गर्ने गरेको छ।