काठमाडौं, जेठ ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच बुधबार दिउँसो थापाथली चोकमा वादविवाद भएको छ।

दिउँसो करिब ३ बजेतिर  आशिका संसद् बैठकबाट फर्कँदै गर्दा थापाथली चोकमा ट्राफिक प्रहरीले हरियो बत्ती बल्दा पनि गाडी अघि बढ्न नदिएको भन्दै उनी रुष्ट बनेकी थिइन्। हरियो बत्ती बलेपछि उनी चढेको गाडीको ड्राइभरले गाडी अगाडि बढाउन खोज्दा ट्राफिक प्रहरीले रोकेका थिए। त्यतिबेला जेब्रा क्रसिङमा मानिसहरू ओहोरदोहोर गरिरहेका थिए ।

ट्राफिक प्रहरीसँग केहीबेर वादविवाद भएपछि आशिका यस्तो अन्याय पनि हुन्छ भन्दै गाडीबाट उत्रिएकी थिइन्। भिडियोमा  हरियो बत्ती बलेपछि पनि ट्राफिक प्रहरीले गाडी अघि बढ्न नदिएपछि आशिका रुष्ट बनेकी देखिन्छ ।

ड्राइभर छेउको सिटमा बसेकी आशिकाले  झ्याल खोलेर ट्राफिकलाई बोलाइन् र हरियो बत्ती बलेपछि मान्छे किन कन्ट्रोल नगरेको भनेर प्रहरीलाई प्रश्न गरेको देखिन्छ ।