
नेपालका तराई क्षेत्रमा तातो हावा चलिरहेका समयमा विभिन्न प्रणालीले मौसम बदली हुँदा अहिले देशका केही जिल्लामा अहिले वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा सङ्खुवासभामा भएको छ । सङ्खुवासभामा पछिल्लो २४ घण्टामा १६९ मिलीमिटर वर्षा भएको छ । अहिले पनि वर्षा जारी छ । यहाँको नुम क्षेत्रमा वर्षा केन्द्रित रहेको छ ।
एक सय मिलीमिटरबाट माथि नाघेपछि त्यसले बाढी, पहिरोको खतरा बढाउँछ । तर स¬ङ्खुवासभामा अति धेरै भारी वर्षा (२०० मिमी)तर्फ उन्मुख हुन लागेको छ । यसले बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
विभागमा अहिले राति १० बजे वर्षा मापन केन्द्रमा रेकर्ड भएको अभिलेखमा यहाँ पछिल्लो एक घण्टामा १५.६, तीन घण्टामा ७१.४, छ घण्टामा ८५ र १२ घण्टामा १३९ मिलीमिटर वर्षा भएको छ । यो अत्यधिक वर्षा हो ।
यस्तै पछिल्लो २४ घण्टामा धादिङ र चितवनमा पनि ४३÷४३ मिलीमिटर वर्षा भएको छ । अहिले मकवानपुर, रौतहट, सिन्धुली, सङ्खुवासभाका केही क्षेत्रमा वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।
विभागले आज साँझ जारी गरेको बुलेटिनमा आइतबार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तथा तराई भूभागमा तातो हावाको लहर चल्ने सम्भावना रहेको र मधेस तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हुरीबतासको सम्भावना रहेको विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।