मनाङ, जेठ ११ :

हिमालपारीको जिल्ला मनाङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको प्रमुख गन्तव्य बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, हिमशृङ्खला, हिमताल, हरियाली र सांस्कृतिक सम्पदाले भरिपूर्ण मनाङमा पछिल्लो समय पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको स्थानीयले बताएका छन्।

मनाङका ताल गाउँ, चामे, मनाङ भ्याली, स्वर्गद्वार, ग्रीन लेक, ब्ल्यू लेक, स्काई लेक, खारासाङ, तिलिचो ताल तथा विभिन्न गुम्बाहरू पर्यटकका प्रमुख आकर्षणका केन्द्र बनेका छन्। यहाँको कला, संस्कृति तथा अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन र अवलोकन गर्न समेत पर्यटकहरू आउने गरेका छन्।

स्थानीय पर्यटन तथा होटल व्यवसायी प्रेम गुरुङले मनाङको प्राकृतिक सौन्दर्य नै यसको मुख्य विशेषता भएको बताए। उनका अनुसार नजिकै देखिने हिमताल, आकर्षक हिमशृङ्खला, हरियाली र चुच्चे पहाडहरूले पर्यटकलाई लोभ्याउने गरेको छ।

यस्तै, स्थानीयवासी ग्याल्जेन लामाले मनाङको अनुपम प्राकृतिक दृश्यावलोकन गर्न मानिसहरूको आकर्षण बढ्दै गएको बताए।

प्राध्यापक तथा साहित्यकार रामप्रसाद दाहालले सडक तथा पूर्वाधारको असुविधाका कारण मनाङ अपेक्षाअनुसार विकास हुन नसकेको उल्लेख गर्दै आवश्यक सुधार गर्न सके मानवलाई प्रकृतिसँग निकट बनाउने अभूतपूर्व स्थलका रूपमा मनाङ स्थापित हुने बताए।