काठमाडौं, जेठ १२ :

कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालन भएको चार महिने सूचना–प्रविधि (आईटी) तालिम सम्पन्न भएको छ। तालिम पूरा गरेका ३४ जना युवालाई एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरिएको छ। 

प्रमाणपत्र वितरण गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले सूचना–प्रविधि क्षेत्र भविष्यको सबैभन्दा सम्भावनायुक्त र रोजगारी सिर्जना गर्ने क्षेत्र भएको बताए। उनले दक्ष जनशक्ति निर्माण गर्नु स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै युवालाई सीप, प्रविधि र रोजगारीसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाइने बताएका छन्।

नगरप्रमुख कार्कीले तालिम प्राप्त युवालाई नगरपालिका मातहतका कार्यालय, सामुदायिक सहकारी संस्था तथा स्थानीय निजी क्षेत्रसँग समन्वय गरी रोजगारीका अवसर सिर्जना गरिने बताए। “हामी केवल तालिम दिने काममा सीमित छैनौं, दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीसँग जोड्ने दीर्घकालीन योजना अघि बढाइरहेका छौं,” उनले भने, “कागेश्वरी मनोहरा नगरपालिकालाई भविष्यमा ‘आईटी हब’का रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो।”

उनले आईटी क्षेत्रमा दक्ष जनशक्तिको विश्वव्यापी माग बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै युवामा आत्मविश्वास, नेतृत्व क्षमता र निरन्तर प्रयासको भावना आवश्यक रहेको बताए। अवसरका लागि निरन्तर प्रयास गर्न आग्रह गर्दै उनले तालिमले युवाको व्यावसायिक करियरको सुरुआत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

जेनिस सोलुसनको सहकार्यमा सञ्चालन गरिएको तालिममा १ सय ५० युवाको सहभागिता रहेको थियो। सहभागीमध्ये नियमित रूपमा तालिम पूरा गरेका युवाले व्यावहारिक तथा प्रविधिमैत्री सीप हासिल गरेका हुन्। तालिमबाट दक्ष बनेका ४ जना युवाले अफर लेटरसमेत प्राप्त गरेका छन्। संस्थाले सीपयुक्त जनशक्ति उत्पादन गरी श्रम बजारमा युवाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

युवाको सक्रिय सहभागिताले आईटी क्षेत्रप्रतिको आकर्षण र सम्भावना झल्किएको नगरप्रमुख कार्कीको भनाइ थियो। उनले जेनिस सोलुसन्सलाई युवामैत्री तथा दीर्घकालीन सीप विकास कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा थप प्रभावकारी तालिम र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

तालिममा सहभागी युवाहरूले प्रविधिमार्फत स्थानीय समस्या समाधान गर्न सकिने बताए। साथै,उनीहरूले अनलाइन प्रणालीमार्फत नागरिकले आफ्ना दैनिक समस्या सम्बन्धित निकायसम्म सहज रूपमा पुर्‍याउन सक्ने बताएका थिए। रुख ढल्ने, सडक अवरुद्ध हुने, ढल निकासको समस्या, बाटो बिग्रिने लगायतका विषय वेबसाइट वा मोबाइल प्रणालीमार्फत रिपोर्ट गर्न सकिने बताए।

नगरपालिकाले आगामी दिनमा पनि प्रविधिमैत्री तथा रोजगारमुखी सीप विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यसअघि पनि नगरपालिकाले १० दिने निःशुल्क आईटी तालिम सञ्चालन गरेको थियो।