काठमाडौं, जेठ २१ :

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताए ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताए ।

नेपालको सबै प्रयोगशालालाई नियमन गर्न खोजिएको हो की भन्ने आशंका उत्पन्न भएको भन्दै उनले छुट्टै प्रयोगशालालाई नियमन गर्न एउटा विशेष विधेयक तयार गरिएको जानकारी दिए । अपराध, अनुसन्धान तथा न्याय सम्पादनको लागि आवश्यक प्रमाणको सङ्कलन, परीक्षण, वैज्ञानिक विधि र पद्धतिद्वारा गर्नको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आवश्यकता परेको उनको भनाइ छ । उनले विधेयकमा रहेका विषयहरुलाई पर्याप्त छलफलमार्फत सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
बैठकमा समिति सदस्यहरुले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए । समितिले विधेयकमाथि विज्ञहरुसंग छलफल गरेर मात्रै दफावार छलफल अघि बढाउने जनाएको छ ।