काठमाडौं, जेठ २२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरु चरणबद्ध रुपमा समाधान गरिने बताएका छन् ।

पाँच दिने भारत भ्रमणसम्पन्न गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताएका हुन् ।

लामिछानेले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्वपूर्ण हुने भएकाले  हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने जिकिर गरे । लामिछानेले अभियन्ता, पत्रकार र राजनीतिक दलले उठाउने विषय तथा तिनको संवेदनशीलता फरक हुने भन्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने गरेकामा आफ्नो भारत भ्रमणमा क्रममा पारदर्शी रुपमा छलफल भएको बताए । भारतीय प्रधानमन्त्रीसंगको छलफलमा समृद्धिको विषयलाई विशेष जोड दिएको जानकारी दिए ।

लामिछानेले यो भ्रमणबाट नेपाल–भारत सम्बन्धका केही पक्ष ‘रिसेट’ भएको बताएका छन् । आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप सकारात्मक ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे । 
सीमाका विषयमा प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा व्यक्त अभिव्यक्ति र त्यसबारे परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक धारणालाई नै सरकारको औपचारिक दृष्टिकोण मान्नुपर्ने उनको भनाइ छ । 
उनले भने,‘प्रधानमन्त्री  शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा हो ।’ त्यस बारेमा उनले आफ्नो छुट्टै धारणा भने दिएनन् ।

लामिछानेले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेको र सकारात्मक जवाफ पाएको बताए ।