काठमाडौं, असार २ :

कागेश्वरी मनोहरा नगरपालिकाले आजदेखि स्थानीय तहबाटै मालपोत तथा नापी सेवा प्रवाह सुरु गर्दै नयाँ इतिहास रचेको छ। सेवा सञ्चालनको पहिलो दिन नगरपालिकाले लालपुर्जा वितरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेको हो।

उद्घाटन कार्यक्रममा सम्बन्धित सचिवले सेवाग्राहीको नयाँ लालपुर्जामा हस्ताक्षर गरी वितरण गरेपछि सेवा हस्तान्तरण प्रक्रियाको औपचारिक सुरुवात भएको थियो। स्थानीय सरकारको तहबाटै मालपोत र नापी सेवा प्रदान गर्ने देशकै पहिलो पालिकाका रूपमा कागेश्वरी मनोहरा स्थापित भएको  छ।

नगरपालिकाबाटै भूमि सम्बन्धी सेवा उपलब्ध हुन थालेपछि अब स्थानीय बासिन्दाले मालपोत कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ। यसले सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा प्रदान गर्नुका साथै बिचौलियाको प्रभावसमेत घटाउने अपेक्षा गरिएको छ। सेवा सुरु भएसँगै स्थानीय नागरिक उत्साहित देखिएका छन्।

सो अवसरमा नगरप्रमुख उपेन्द्र कार्कीले मालपोत र नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय सरकारमार्फत सञ्चालन गर्ने अवसर प्राप्त हुनु नगरवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यसबाट नागरिकले सहज, सरल र सुशासनयुक्त ढंगले घरदैलोको सरकारबाटै भूमि सम्बन्धी सेवा प्राप्त गर्ने सुनिश्चितता भएको उल्लेख गरे।