काठमाडौं, असार ७ :

कवि कैलाश पोखरेलको छैटौं कविता सङ्ग्रह ‘स्मृतिका छालहरू’ को लोकार्पण गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. रामप्रसाद दाहालले उक्त कृतिको लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि डा. दाहालले कवि पोखरेलका कविताहरू समसामयिक विषयवस्तुमा केन्द्रित रहेको बताए।  कृतिभित्र समाजका विविध पक्ष, राजनीति, सामाजिक मूल्य–मान्यता, विकृति–विसङ्गति, वेदना र संवेदनालाई गहिरो रूपमा प्रस्तुत गरिएको चर्चा गर्दै समाजमा सुधार र सुशासनको अपेक्षासहित कविताहरू सिर्जना गरिएको  बताए।

यस्तै कवि कैलाश पोखरेलले आफूलाई कविताका सैद्धान्तिक पक्षहरूको विशेष ज्ञान नभए पनि निरन्तर रूपमा कविता लेख्दै आएको बताए। “मैले लेखेका कविता कस्ता छन् भन्ने मूल्याङ्कन पाठकले गर्ने विषय हो। पाठकलाई केन्द्रमा राखेर लेखिएका मेरा रचनाहरूको सङ्ग्रह आज सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ,” उनले भने।

कृतिमाथि टिप्पणी गर्दै वरिष्ठ समालोचक युवराज मैनालीले कवि पोखरेलले निकै मेहनत र लगनशीलताका साथ कृति तयार पारेको उल्लेख गरे। उनले भने, “यस सङ्ग्रहका कविताहरू पढ्दा यसको वास्तविक स्वाद अनुभूति गर्न सकिन्छ। यो कृति बोल्नुभन्दा पढ्नमा अझ बढी प्रभावशाली छ।”

कार्यक्रममा कवि ठाकुर शर्माले कवितामार्फत कृतिको महत्वमाथि प्रकाश पारेका थिए। त्यसैगरी अर्थविद् रेवतबहादुर कार्कीले कवि पोखरेलको साहित्यिक यात्रा अझ सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

सो अवसरमा कवि कृष्ण बाउसे, निर्मल पराजुली र कृष्णप्रसाद भट्टराईले आफ्ना कविता वाचन गरेका थिए। साहित्यकार हरिभक्त सिग्देल, विष्णु पन्तलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।