काठमाडौं, असार ८ :

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको अहिले पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । यसअघि उनको शवलाई श्रद्धाञ्जलीका लागि बिहान नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको थियो । 

खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उनी दम रोगबाट पीडित थिए।

विसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए । विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित भएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा समेत कार्यभार सम्हालिसकेका थिए। कांग्रेस राजनीतिमा उनी सादगी नेताका रुपमा परिचित थिए । उनका तीन छोरा र छोरी छन् ।