काठमाडौं, असार १६ :

मोरक्कोले आज बिहान भएको खेलमा पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ बाट डच टोलीलाई बाहिर पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

निर्धारित समयको इन्जुरी समयमा मोरक्कोका इस्सा डियोपले गोल गर्दै नेदरल्यान्ड्सका कोडी गाक्पोको सुरुआती गोललाई बराबरीमा फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अमेरिकाको मोन्टेरेमा भएको खेलमा अतिरिक्त समयमा पनि नतिजा ननिस्किएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको हो।

रोमाञ्चक पेनाल्टी सुटआउटमा दुवै टोलीका खेलाडीले गोल गर्ने र चुकाउने क्रम चलिरहँदा मोरक्कोका स्टार फरवार्ड इस्माइल सैबारीले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ३–२ को जित दिलाए।

यस जितसँगै मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको छ जहाँ उसले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।