काठमाडौं, साउन १३ :

नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार समस्याको साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप लगाएका छन् ।

सिंहदरबारमा जारी सर्वदलीय बैठकमा उनले संकटको अवस्थामा प्रधानमन्त्रीले नै पहलकदमी लिनु पर्ने बताउदै सरकार अझ जिम्मेवार,सक्रिय र संवेदनशील बन्नुपर्ने बताए । उनले भने, ‘आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ।’

सुनसरीमा देखिएको तनावप्रति  गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो उनले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने बताए ।

'विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ। तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ' उनले भने ।

रास्वपा सभापति रबि लामिछानेले बैठक राखेकोमा भने उनले धन्यवाद दिए ।'यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ।

संसदमा पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन' उनले भने । घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन,बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक छ।' उनले अहिले राजनीतिक तिक्तता बढाउने समय नभएको र राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको बताए । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।