काठमाडौं, भदौ २ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद साम्पाङले  सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रण जस्ता आधारभूत विषयमा सरकार असफल रहेको दाबी गरेका हुन्। प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको उनले बताए।

सरकारका विभिन्न मन्त्रालयको कार्यसम्पादन र जवाफदेहितामाथि प्रश्न गर्दै सांसद साम्पाङले सरकार संसदप्रति र संसद जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्नेमा जोड दिए ।

उनले सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै धरानस्थित बराह वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए।