काठमाडौं, भदौ १० :

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी हालसम्म ९५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतकमा २७ महिला, ३७ पुरुष, ६ बालिका र ५ बालक छन्। २० जनाको भने पहिचान खुल्न सकेको छैन। बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उपचाररत घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१, राष्ट्रिय ट्रमा सेन्टरमा ७, वीरेन्द्र सैनिक अस्पतालमा एक, रसुवा अस्पतालमा २१, त्रिशूली अस्पतालमा १६, नर्भिक अस्पतालमा ३ र ग्रीनसिटी अस्पतालमा एक जना छन्। बाढीपछि २८ जना प्रहरी सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।