
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध कार्यनितिक मात्र नभएर दूरगामी महत्वको रणनितिक भएको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘काष्ठमण्डप संवाद’ को तेस्रो शृङ्खलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुइ देशबीचको सम्वन्धलाई रणनितिक सम्बन्धको स्तरमा उठाइसकेको उल्लेख गर्दे यस सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्ने आवश्यक्ता औल्याए । छिमेकी देश शक्तिशाली भएपनि नेपालले उठाउनुपर्ने लाभ नउठाएको भन्दै यसलाई उन्न्त बनाउदै लानुपर्नेमा जोड दिए । नेता खनालले नेपाल ५ हजार वर्ष लामो इतिहास, संस्कृति र सभ्यता बोकेको मुलुक भएकाले आफ्ना ऐतिहासिक विशेषतासँग आजको परिवर्तनलाई जोड्नुपर्ने बताए ।
उनले छिमेकी मुलुक चीनको द्रुत विकास, पार्टी निर्माण र सुशासनबाट धेरै कुरा सिक्न सकिने भए पनि चीनले समेत अरूको मोडल नपछ्याई आफ्नै मौलिकतामा अघि बढ्न सिकाएको उल्लेख गरे। दुई देशबीचको व्यावहारिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी र दिगो विकासका चुनौतीहरूलाई सम्बोधन गर्न यस्ता संवाद फलदायी हुने उनको भनाइ छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले हालै भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै जलवायु उत्थानशीलता तथा सीमापार विपद् जोखिम न्यूनीकरणलाई दुई देशबीचको दीर्घकालीन सहकार्यको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिए । उनले जनता–जनताबीचको सांस्कृतिक सम्बन्ध र नयाँ पुस्ताका युवाहरूबीचको सहकार्यले मात्र द्विपक्षीय सम्बन्धलाई भविष्यमा अझ प्रगाढ बनाउन सक्ने धारणा राखे ।
दुई दिनसम्म चलेको संवादमा नेपाल र चीनका विज्ञ, प्राध्यापक, कूटनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।