नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजको स्थायी कमिटीको बैठकले विभिन्न जिल्लाका १० नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकले सो मनोनयन गरेको हो । महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिकाअनुसार मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिरहा), तेजमान कन्दङवा (तेह्रथुम), टङ्क आङ्बोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डबल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) छन् ।
यही असोज २२ गते सुरु भएर आज सकिएको बैठकले आगामी मङसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।
बैठकले पार्टीका वडा कमिटीका अधिवेशन आगामी मङ्सिर २६ गते र गाउँपालिका तथा नगरपालिकास्तरीय कमिटीका अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
बैठकले मधेस प्रदेशसभामा पार्टीका सभासद् जैनब खातुनको निधनपछि रिक्त भएको समानुपातिकतर्फको स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी सङ्गठन कमिटीमा रूपान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ ।