जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।
“प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौैँ”, प्रबन्ध सञ्चालक पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।” उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ ।
जनकपुरधामबाट अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए । नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।
केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेका थिए ।
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए ।
विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने छ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक